728x90 AdSpace

  • Latest News

    Sunday, November 19, 2017

    राजेश पायल राई लाई अमेरिकाले गर्यो सम्मान

    मंसिर ४- २०७४-गायक राजेशपायल राईले सोचेका थिएनन्, जिन्दगीमा यति ठूलो सरप्राइज पाइन्छ भनेर । केही वर्षयता उनी बर्सेनि अमेरिकामा कन्सर्ट गर्न पुग्ने गरेकै थिए, यसपालिको सातौं अमेरिका यात्रा भने अलि भिन्न र महत्त्वपूर्ण रह्यो । उनलाई रोचेस्टर सहरकी मेयर लभ्ली वारेन, उपमेयर डा. कार्डिक एल अलेक्जन्डरले यस्तो सम्मान गरे, अब हरेक वर्ष त्यो सहरले नोभेम्बर ५ को दिनलाई ‘राई इज किङ डे’ का रूपमा मनाउनेछ ।

    ‘म त सो गर्न मात्र अमेरिका गएको थिएँ । सम्मान मेरो लागि पनि सरप्राइज नै भयो,’ केही दिनअघि मात्रै नेपाल फर्किएका उनले भने, ‘नेपाली गीत गाएर अमेरिकाको राज्यले सम्मान गर्नु यो मेरो मात्र उपलब्धि होइन, नेपाली गीतसंगीतकै ठूलो गौरवको विषय अमेरिकामा रहेका नेपालीभाषी भुटानी समुदायको निमन्त्रणामा राजेश त्यता पुगेका थिए । राजेशले सम्मान पाएको साँझ फेसबुकमा स्टाटस राखेपछि मात्रै उनका शुभचिन्तकले थाहा पाएका थिए । सम्मान ग्रहण गरिरहँदा नेपाललाई नै सम्झिरहेको उनले सुनाए । भने, ‘सम्मान पाएको कुरा कसलाई सुनाऊँ जस्तो भएको थियो । निद्रा पनि लागेन, त्यो रात त्यसै बसेँ । पछि फेसबुकमा स्टाटस राख्दै अवार्ड पाएको खुसी साटेँ । नेपाली दाजुभाइ, दिदीबहिनीले बधाई दिनुभयो । पछि आफूले केही गरिरहेछु भन्ने भान भयो ।’
    यसपटक उनले पोर्टल्यान्ड, सेकल, न्युहामसायर, न्युयोर्क, रोचेस्टरमा गरी पाँच ठाउँमा कन्सर्ट गरे ।

    जुन २०१४ मा नेपालीभाषी भुटानी समुदायको निमन्त्रणामा पहिलोपटक गायक राजेश अमेरिका पुगेका थिए । त्यति बेला उनले टेक्सासमा एउटा सो गरेका थिए । सोही वर्ष जुलाईमा अभिनेता सरोज खनालले बोलाएपछि उनी क्यानाडाबाट सिधै अमेरिकाको भर्जिनिया पुगेर प्रस्तुति दिएर फर्किए । यसपालि दसैंतिहारको मेसो पारेर उनी सांगीतिक प्रस्तुति दिन त्यता पुगेका थिए ।

    उनको हरेक अमेरिका यात्रा फरक अनुभवले भरिएको छ । एकपटक उनी न्युयोर्कमा कार्यक्रम गर्दागर्दै बिरामी भए । त्यहाँ चेकअप गर्दा केही पत्ता लागेन । भोलिपल्ट पाँच बजेको फ्लाइट चढेर लेनसिङ मिचिगन सिटीमा सो गर्न पुगे । बिरामी हुँदाहुँदै पनि उनले कसैलाई नबताइकन कन्सर्ट गरे । कन्सर्ट सकिएपछि उनी एक जना भाइलाई लिएर सिधै अस्पताल पुगे । अस्पताल पुग्दा थाहा पाए, उनलाई फ्लाइट सिकनेस भएको रहेछ ।

    ‘अमेरिकाका भिन्नभिन्न सहरमा शुक्रबार, शनिबार, आइतबार धेरै कार्यक्रम हुन्छ । 

    जस्तोसुकै गीतलाई पनि न्याय गर्न सक्ने खुबी राजेशमा छ । त्यसैले पनि हरेक फिल्ममा उनलाई गीत गवाउन प्रोड्युसरहरू लाइन लाग्छन् । उनले गाइदिए मात्र पनि गीत सुपरहिट हुन्छ भनेर नौ महिनासम्म कुरेको रेकर्ड पनि छ उनीसँग ।

    ‘एकदमै ठूलो सपना, लक्ष्य निक्र्योल गरेर आएको थिइनँ । बालकौतूहल थियो, रेडियोभित्र कसरी मान्छे पसेर बोल्छ, समाचार भन्छ, गीत गाउँछ भन्ने । लहलहैमा रेडियोभित्र छिर्छु भन्ने थियो । रेडियोमा बजेअनुसारका गीत कपी गरेर गाउथेँ,’ उनले भने, ‘काठमाडौं आएर एउटा गीत रेकर्डिङ गरिसकेपछि यसको चार्म के रहेछ भन्ने बुझेँ । आज म जे छु संगीतले नै छु । संगीत भएन भने त म बाँच्न  पनि सक्दिनँ

    उनी संगीतकै कारणले कहिले अस्ट्रेलिया त कहिले क्यानाडा पुगिरहेका हुन्छन् । प्राय: नेपाली संगीतकर्मी नपुगेका नाइजेरिया, दक्षिण अफ्रिका पनि पुगेका छन् उनी । ‘नेपाली संगीत विश्वको कुनाकाप्चामा पुर्‍याउन पाउँदा खुसी लाग्छ,’ उनले भने ।

    उनी भर्सटाइल गायक पनि हुन् । पूर्वको हाक्पारेदेखि सुदूरपश्चिमको देउडा, पश्चिमा पप शैलीदेखि रक, राष्ट्रगान हुँदै गजल र मुक्तक पनि गाएका छन् । ‘लोकगीत होस् कि रक, त्यो संगीत हुनुपर्‍यो र त्यो मान्छेको मनलाई छुने हुनुपर्‍यो,’ उनले भने, ‘एउटै कुरामा म अडेर बस्नै चाहन्नँ । जुन विधाको गीत भए पनि त्यसले श्रोताको मन छुन सकोस्, त्यस्तो गीत गाउन चाहन्छु ।’

    उनलाई संगीत राजेश हो, राजेश संगीत हो जस्तो लाग्छ रे । संगीतमा आउन चाहनेलाई स्वागत गर्दै उनले भने, ‘तर राजेशपायल राई बन्छु भनेर नआउनुस् । म पनि नारायण गोपाल बन्छु भनेर आएको भए मेरो बाटो गलत हुने थियो । त्यसैले आफ्नो छुट्टै पहिचान बनाउँछु भनेर आउनुस् ।’

    अमेरिका बसाइका क्रममा रोकिएको फिल्मका लागि रेकर्डिङ सकेपछि झापा, धरान तथा भारतको असम, न्युजिल्यान्ड, हङकङमा कन्सर्ट गर्ने योजना बनिसकेको छ ।

    प्रकासित  मंसिर  सोमबार -४  २०७४                                                       
      रंग दर्पण टि भी
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: राजेश पायल राई लाई अमेरिकाले गर्यो सम्मान Rating: 5 Reviewed By: Unknown
    Scroll to Top