728x90 AdSpace

  • Latest News

    Friday, December 8, 2017

    दोस्रो चरण पनि उल्लासमय,वाम गठबन्धनले लियो अग्रता मत गणना जारी

    रंग दर्पण २२ शुक्रबार २०७४

    मंसिर २२, २०७४-प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबार दोस्रो चरणको निर्वाचन सकिएसँगै साँझ ५ बजेबाट पहिलो चरणमा चुनाव भएका ३२ जिल्लामा मतगणना सुरु भएको छ । गणनाको सुरुवाती अवस्थामा वाम गठबन्धनले अग्रता लिएको छ । 

    प्रदेश -१ का ताप्लेजुङ, भोजपुर, पाँचथर, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु र संखुवासभा, प्रदेश ३ का दोलखा, रामेछाप, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र रसुवा, प्रदेश ४ का म्याग्दी, बागलुङ, मुस्ताङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश ५ का रुकुम पूर्व र रोल्पा, प्रदेश ६ का जुम्ला, रुकुम पश्चिम, हुम्ला, मुगु, कालिकोट, डोल्पा र जाजरकोट तथा प्रदेश ७ का बझाङ, बैतडी, दार्चुला र बाजुरामा मतगणना सुरु भएको हो । कम मतदाता भएका जिल्लामा चाँडै नै परिणाम आउने अपेक्षा गरिएको छ ।

    दोस्रो चरणमा ६७ प्रतिशत मत खसेको छ । यो प्रतिशत प्रारम्भिक रहेकाले आँकडा केही बढ्न सक्ने निर्वाचन आयोगले जनाएको छ । संघीय संरचनाअन्तर्गत पहिलोपटक केन्द्रीय सरकार तथा प्रदेश सरकार निर्माणका लागि दुवै सभाको निर्वाचन भएको छ । दुवै सभाको निर्वाचन एकैसाथ तर दुई चरणमा भएको हो ।

    यसअघि मंसिर १० गते हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा भएको पहिलो चरणमा ६५ प्रतिशत मत खसेको थियो । कुल १ करोड ५४ लाख २७ हजार ९ सय ३८ मतदातामध्ये दुवै चरण गरेर ६६ प्रतिशत मतदान भएको हो । यसै वर्ष तीन चरणमा भएको स्थानीय तह निर्वाचनको तुलनामा उक्त प्रतिशत कम हो । स्थानीय तह निर्वाचनमा ७४.२ प्रतिशत मतदान भएको थियो । छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपभएको दोस्रो चरणमा १५ हजार ३ सय ४४ मतदान केन्द्रमध्ये अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ५ मथुरा निमावि नेटा मतदानस्थलको ‘क’ र ‘ख’ मा निर्वाचन स्थगित भएको छ । मतदान केन्द्र ‘ख’ का मतदान अधिकृतले मतपत्रमा सही नगरेको भन्ने विवादमा राजनीतिक दलका प्रतिनिधिले मतपत्र च्यात्नुका साथै मतपेटिका तोडफोड गरेपछि स्थगित भएको हो ।

    यसअघि पहिलो चरणमा पनि दुईवटा केन्द्रको स्थगित भएको थियो । त्यतिबेला ४ हजार ४ सय ६५ मतदान केन्द्रमध्ये रुकुम पश्चिमको बाफिकोट गाउँपालिका ५ को रत्न मावि ‘क’ र सोही जिल्लाको आठबिसकोट नगरपालिका ११ स्थित राष्ट्रिय मावि गत्तसैना ‘ख’ मतदान केन्द्रको स्थगित भएको हो । मतपेटिकामा एसिड हालेको घटनाले त्यहाँ मतदान स्थगित गरिएको थियो ।

     
    संविधानअनुसार प्रतिनिधिसभाको सदस्य संख्याको दोब्बर प्रदेशसभा सदस्य हुने भएकाले ७ वटै प्रदेशको गरी प्रत्यक्ष प्रणालीबाट ३ सय ३० र समानुपातिकबाट २ सय २० सदस्य चुनिने छन् । जनसंख्याको अनुपातमा ७ वटै प्रदेशसभाको सदस्य संख्या फरक–फरक छन् । 

    प्रदेश १ मा प्रतिनिधिसभाका लागि २८ निर्वाचन क्षेत्र छन् । संविधानअनुसार प्रदेशसभाको निर्वाचन क्षेत्र दोब्बर हुने भएकाले त्यहाँ प्रत्यक्ष निर्वाचनबाट ५६ जना चुनिने छन् । कुल सदस्य संख्याको ४० प्रतिशत समानुपातिकबाट चुनिने भएकाले त्यहाँ ३७ जना दलले प्राप्त गरेको मतका आधारमा बन्दसूचीबाट छानिने छन् । प्रदेश १ को प्रदेशसभामा कुल ९३ जना सदस्य हुनेछन् । 

    प्रदेश २ मा प्रतिनिधिसभाको ३२ निर्वाचन क्षेत्र छन् । प्रदेशसभामा प्रत्यक्षबाट ६४ र समानुपातिकबाट ४३ गरी कुल १ सय ७ सदस्य चुनिने छन् । 

    प्रतिनिधिसभाको ३३ निर्वाचन क्षेत्र रहेको प्रदेश ३ मा प्रदेशसभामा प्रत्यक्ष निर्वाचनबाट ६६ र समानुपातिकबाट ४४ जना चुनिने छन् । १ सय १० जनाको सबैभन्दा ठूलो प्रदेशसभा यही हुनेछ । 

    प्रदेश ४ मा प्रतिनिधिसभाको १८ निर्वाचन क्षेत्र छन् । त्यहाँको प्रदेशसभा प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ गरी ६० सदस्यीय बन्नेछ । प्रदेश ५ मा प्रतिनिधिसभाको २६ क्षेत्र छन् । उक्त प्रदेशमा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ सदस्यीय प्रदेशसभा गठन हुनेछ । 

    सबैभन्दा सानो प्रदेशसभा प्रदेश ६ को हुनेछ । त्यहाँको प्रदेशसभामा प्रत्यक्षबाट २४ र समानुपातिकबाट १६ जना गरी ४० सदस्य मात्र हुनेछन् । त्यस प्रदेशमा प्रतिनिधिसभाको १२ वटा निर्वाचन क्षेत्र मात्रै रहेकाले सोही अनुपातमा प्रदेशसभा पनि सानो भएको हो ।  





    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: दोस्रो चरण पनि उल्लासमय,वाम गठबन्धनले लियो अग्रता मत गणना जारी Rating: 5 Reviewed By: Unknown
    Scroll to Top